xaru_xetri

By xaru_xetri

अब त चुनाव मुखैमा आयो l

अब त चुनाव मुखैमा आयो , 
केही त लेख्नै पर्छ । 

हिजो चुनावपछि नेता गाउँमा नआउदा चोकको चिया पसलमा बसेर कुरा काट्ने जनता हामी आज त्यहीँ नेता गाउँमा आएर अर्को पार्टीको नेताको कुरा काट्दा भक्कु ताली बजाइरा छौँ  । कुरा काट्दा हामी यति खुशी छौँ कि हिजो ५ बर्षमा नेताले सिन्को नभाचेकोमा हामिलाई केही गुनासो छैन । 

त्यसैले त मलाई भन्न मन लाग्छ । 
  विश्वका दुर्लभ " जनता " हामी 
  विश्वका आठौं आश्चर्य " जनता " हामि 

आज सुपर ग्लुले टासे जसरी हात जोडेर नेता घर घर आउँदा गाउँ टोल बनाउने योजना के छ सोध्न मन लाग्दैन हामी जनतालाई , बरु घरको काम छोडेर र्याली , चोकको नाचगान जस्ता नेताका योजनाहरु खुब मनपर्छ । आज नेताको पछि लागेर चुनावी र्यालिमा हिड्दा  गाउँको सरकारी बिद्यालय , अस्पताल , बाटोघाटो सबै यति मनपर्छ कि गाउँमा केही समस्या नै छैन । कसैले तेरो नेता यस्तो उस्तो भन्यो भने त मार्न मन लाग्छ । 

त्यसैले त मलाई भन्न मन लाग्छ । 
  विश्वका दुर्लभ " जनता " हामी 
   विश्वका आठौं आश्चर्य " जनता " हामि 

हिजो बर्षेनी भत्किने खाल्डाखुल्डी भएको बाटोमा हिड्दा नेता सम्झेर कन्पारो तात्ने हामी जनतालाई आज त्यहीँ बाटो नेताको चुनाव प्रचारप्रसारको गाडीमा हिड्दा खाल्डाखुल्डी पनि यति मनपर्छ कि मानौँ त्यो नेसनल हाइवय हो । 

त्यसैले त मलाई भन्न मन लाग्छ । 
   विश्वका दुर्लभ " जनता " हामी 
   विश्वका आठौं आश्चर्य " जनता " हामि 

अघिल्लो चुनावमा मलाई जिताए गाउँ नगरको कायापलट गर्छु भनेर भोट माग्ने नेता यो पाली पनि त्यही आश्वासन दिएर भोट मागिरहेको छ अनि हामी जनतालाई नेताको यो वाणी यती मनपरेको छ कि मानौँ अब चमत्कार नै हुन्छ । 

त्यसैले त मलाई भन्न मन लाग्छ । 
   विश्वका दुर्लभ " जनता " हामी 
   विश्वका आठौं आश्चर्य " जनता " हामि 

नेताले भोट माग्दा हामिले योजना मागौ ।
नेताको पछि हामी हैन हाम्रो पछि नेता लाग्ने बनाऔं । 
नेता प्रतिको आक्रोश अब मत पेटिकामा व्यक्त गरौं ।

Comments
Sign in or get an account to comment.